Wednesday, May 22, 2013

फिलुङ्गो–एक लघुकथा


                   एउटा समय थियो । ईन्धनहरु एथेष्ठ संकलन गरिएको थियो । खाँचो थियो एउटा फिलुङ्गो । खोज्नका लागि लगाईएका थिए ज्यामीहरु, साँच्चै, ईनधन संकलन गर्न पनि यिनै ज्यामीहरुको प्रयोग गरिएको थियो । यसरी ईन्धन संकलन गरियो, फिलुङ्गो खोजियो र हस्तान्तरण गरियो ‘ठेकेदार साप’लाई । भनिरहन नपर्ला ठेकेदार साप निकट थिए  ट्वाईसी अर्थात सहायक ठेकेदार ,उनकै सुपुत्र साथै अन्य मिस्त्री लगायतका कारिन्दा । पहिले पनि  विभिन्न योजनामा काम गरिसकेका वृद्ध ठेकेदार पनि थिए जो सँग अझै पनि ईन्धन संकलन गर्ने र फिलुङ्गो सल्काउने गुणमा अझै ह्रास आईसकेको थिएन ।

                   समय आयो जंगलमा बढेको विषालु वृक्षलाई आगो सल्काएर निखार्ने । जंगल पहिलो निकै घना थियो । सानो वस्तीको आडमा रहेकाले होला खासै मासिएको थिएन । वस्तिका वासिन्दाहरु आफ्नो आवस्यकताका सामाग्रीहरु जंगलबाटै जुटाएर काम चलाउँथे । तर केही समय देखि वस्तिमा जनसङ्ख्या वृद्धि सँगै वन मासिने क्रम बढ्यो, जंगली जनावर वस्तिमा पसेर दुःख दिन थाल्यो कति पटक त जंगलको चितुवाले वस्तिका स–साना वालवालिकहरुलाई दिनदहाडै घिसारेर लगेको समेत थियो । वासिन्दाहरु त्राहीमाम ! त्यसै समयमा जंगलमा विषालु वृक्ष बढ्दै गएको त्यसले सारा वस्तिलाई नै सखाप पार्ने हल्लाहरु फैलन थालेको थियो । मानिसहरु चितुवा र विषालु वृक्षको भयले जंगल पस्न डराउन थाले । डर यति चुलियो कि वासिन्दाहरुलाई आफ्नो न्यूनतम आवस्यकता पूर्ति गराईरहेको जंगल देखि रिस उठ्न थाल्यो । विषालु वृक्षबाट पार पाउन वासिन्दाहरु ठेकदार सापको मा घरमा जम्मा भएका थिए ।

                     जंगलमा फैलिएको विषालु वृक्षलाई तह लगाउने उपाय ठेकेदार सापकै थियो । यस्तो जटिल घडीमा उनबाटै आशा थियो । उनको मुखारविन्दबाट पहिले पनि यस्ता निर्णयहरु आउने गरेकै हुन् । वासिन्दाहरु ढुक्क थिए, ठेकेदार साप जो थिए, जटिल घडिमा निर्णय गर्न सामर्थ्यवान । उनले निर्णय गरे ‘विषालु वृक्षलाई ठेगान लगाउन जंगललाई चारै तिरबाट ईन्धन छरी आगो सल्काई दिने ’। यस्ता महान व्यक्तिको महान निर्णय सुनेर सवै हर्षविभोर सवैले परररर तालि बजाएर समर्थन गरे, ठेकेदार सापको जय जयकार गरे, ठेकेदार साप गद्गद्। ए साच्चै ठेकेदार सापले गरेको निर्णयका विपक्षमा आवाज उठाउने हिम्मत कस्ले गर्न सक्थ्यो र! साँच्चै आफूले गरेको निर्णयको विरुद्ध मा बोल्ने लाई ठेगान लगाउन पनि त उनले जानेकै थिए । निर्णय आखिर त्यही भयो ।

                     ज्यामीहरु छरिए ईन्धन सहित, वरिपरिबाट ईन्धनको वृष्टि गराईयो, सृष्टि जो बस्दै थियो, वृष्टि पछि । अनि माहान ठेकेदार सापले आफ्नै वाहुलीबाट फिलुङ्गो सल्काईवक्स्यो । आगो फैलियो दनदन, लाग्यो डडेलो तर डडेलोमा कसैको दुःख थिएन अथवा देखाउन सकेका थिएनन् , देखाएका थिए त केवल आशा, विश्वास र भरोसा, डडेलो सँगै असंख्य रुखहरु, पोथ्राहरु, बाँदरका बथान, जंगली जनावरका झुण्डहरु सवै एकै चिहान । ज्यामीहरु झनै खुसी आफ्ना सन्ताल घिसार्ने चितुवा जो आगोमा पुत्पुताउँदै थियो । १९ दिनको डडेलो पश्चात जंगल सखाप, विषलु वृक्ष प्राणहिन, सवै खरानी, कोईलाको खानी, अपार नीधि, ज्यामी हर्ष विभोर, ठेकेदार साप मालिक, अरु श्रमिक । दिनप्रतिदिन कठोर मिहिनेत, भरिदैं ढुकुटी, बनाईँदै महल, मगाईँदै विदेशी अत्तर, मगाईँदै विदेशी फर्निचर, ठेकेदार सापको राजशी ठाँट, बन्दी श्रमिक ठेकेदार सापको निगाहको अधिन । ठेकेदार सापको मौसुफमा मेटामोर्फोसिस, अरु रैती । नाम जस्तै अजंगको पर्सनालिटिका धनि ठेकेदार सापलाई मौसुफ भन्न करै लाग्यो । वृद्ध ठेकेदार सल्लाहकार, ट्वाईसी ठेकेदार राजकुमार, श्रमिक सवै नोकर, आसेपासे भारदार !
                                                               –आभाष

No comments:

Post a Comment